२०८१ मंसिर ८ , शनिवार

चालु वर्षको खर्च भुक्तानी दिने आज अन्तिम दिन, यस्ता बिल मात्रै क्लियर गरिने

Mahalekha

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक वर्षको लागि खर्च भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्था अनुसार असार मसान्तको दिन भुक्तानी गर्न रोक लगाइएको छ।

चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेटमा १३ खर्ब ९७ अर्ब रुपैयाँ मात्रको खर्च भएको छ। यो विनियोजन गरेको बजेटको तुलनामा ७९=८१ प्रतिशत मात्रै खर्च हो।

 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुनु अघि भुक्तानी निकासा बन्द गर्नु पर्ने व्यवस्था गरेको छ।

जसको उपनियम १ मा ‘विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकम बाहेक भुक्तानी दिनु पर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नु पर्नेछ’ भन्ने व्यवस्था गरेको छ। विनियोजन ऐनले फ्रिज नहुने भने कुनै शीर्षक तोकेको छैन। महालेखा नियन्त्रकको कार्यालयले अधिकांश भुक्तानी असार २५ गते नै भएको जनाएको छ।

तर पछि रकमान्तर गरेको र अनिवार्य दायित्व भएका खर्च भने आर्थिक वर्ष सकिनुको अघिल्लो दिन भुक्तानी दिन सकिने व्यवस्था गरिएको छ।

चालु वर्षका लागि सरकारले तीन खर्ब दुई अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा एक खर्ब ८३ अर्ब रूपैयाँ मात्रै खर्च भएको छ। ११ खर्ब ४१ अर्ब चालु खर्च विनियोजन गरिएकोमा अन्तिम दिन अगावै नौ खर्ब ४९ अर्ब रूपैयाँको खर्च भएको छ।

वित्तीय व्यवस्थापनमा तीन खर्ब सात अर्ब विनियोजन भएकोमा दुई खर्ब ६३ अर्ब रुपैयाँ खर्च भएको छ।