२०८१ पुष २७ , शनिवार

मृतकका परिवारलाई छ लाख ५० हजार राहत

note

सुनाखरी न्युज/ काठमाडौं ।

मनसुनजन्य विपद्बाट बागलुङमा तीनजनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु छ लाख ५० हजार राहत प्रदान गरेको जनाएको छ ।

बागलुङमा मनसुनजन्य विपद्बाट गलकोट नगरपालिकामा एकै परिवारका दुईजनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो । मनसुनजन्य विपद्बाट मृत्यु भएकाका परिवारलाई सङ्घीय सरकार र प्रदेश सरकारका तर्फबाट आएको राहत प्रदान गरिँदै आएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यही असार २७ गते राति बागलुङ–७ तितौरेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको थियो । मृतक शर्माकी छोरी निर्मला शर्मालाई रु दुई लाख ५० हजार नगद प्रदान गरिसकिएको सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार सङ्घीय सरकारको रु दुई लाख र प्रदेश सरकारको रु ५० हजार रकम मृतकको परिवारलाई प्रदान गरिएको छ ।

यस्तै, यही असार १५ गतेको राति अविरल वर्षाले घर पुर्दा श्रीमान्–श्रीमतीको मृत्यु भएको थियो । गलकोट–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती विकको पहिरोमा परी ज्यान गएको थियो । मृतक श्रीमान्–श्रीमतीको परिवारलाई रु चार लाख एक मुष्ट नगद राहत प्रदान गरिएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो ।  रासस