२०८१ मंसिर १२ , बुधवार

भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि नै पूर्णता दिने तयारी भइरहेको छ ।राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेपछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएकाले सोमबार बिहान ११ बजे शपथ समारोह राख्ने तयारी चलिरहेको छ ।

ओलीले आफूले शपथ लिँदा मन्त्रिपरिषदलाई पूर्णता दिन चाहेका छन् । ‘सकेसम्म भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिइनेगरी छलफल भइरहेको छ’,  स्रोतले भन्यो ।

ओलीले एकैपटक सबै मन्त्री नियुक्त गर्न चाहेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसैअनुसार छलफल गरिरहेका छन् । ‘ओलीजीले भोलि सबै मन्त्री नियुक्त गर्नुपर्छ भनेपछि पार्टीभित्र र बाहिर छलफल भइरहेको छ । भरे रातिसम्म मन्त्रीहरुको टुंगो लाग्छ’,एक नेताले भने ।

उनका अनुसार, आइतबार रातिसम्म सम्भव नभए पनि भोलि बिहानसम्म मन्त्रीहरु टुंगो लगाउने गरी देउवा लागिपरेका छन् । साना दलहरु पनि आइतबार नै मन्त्री टुंगो लगाउन छलफलमा छन् ।