सुनाखरी न्युज/ काठमाडौं ।
त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।
गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले आइतबार भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।
स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा। भीष्मकुमार भूसालले भने, ‘हामीले नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेका छौं । खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई भने भनेका छौं ।’
भारतीय टोलीसँग भारतमा सिधै सम्पर्क गरेर सहयोग मागेको उनले बताए । उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारी आइतबार नै पठाइएको भन्दै भूसालले उताबाट प्रतिउत्तरको प्रतीक्षामा रहेको बताए ।
यसैगरी बंगलादेशसँग भने काठमाडौंस्थित दूतावासमार्फत् सम्पर्क गरेर आवश्यक प्रविधि र जनशक्तिको सहयोग मागिएको भूसालले बताए ।