सुनाखरी न्युज/ काठमाडौं।
नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनमा पहिरोले बगाएर दुई यात्रु बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालयमा आज पदबहालीपश्चात् उहाँले सहसचिव छवि रिजालको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गर्नुभएको हो ।
कार्यदलले घटनाका कारण र आगामी दिनमा त्यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायसम्बन्धमा सुझाव दिने तथा बसमा सवार यात्रुका परिवारलाई राहत उपलब्ध गराउने सन्दर्भमा पनि अध्ययन गर्नेछ ।
उक्त कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।मन्त्री लेखकले ‘चौथो अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना (२०८१÷८२ देखि २०८३÷०८४)’ स्वीकृत गर्नुभयो । रासस