२०८१ मंसिर १२ , बुधवार

काठमाडौं महानगरले दियो श्रम बैंकमार्फत् ९१२ जनालाई रोजगारी

Balen

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएको दाबी गरेका छन् । प्रमुख शाहले आज सामाजिक सञ्जालमार्फत् उनले श्रम बैंकमार्फत् ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको जनाएका हुन् ।

‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो’, मेयर बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्।

मेयर बालेनले यसको सुरुवात भएको आर्थिक वर्ष २०८०–८१ मा सीप मेला २०८१ मार्फत २ हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १ हजार ४६७ जना र अनलाइनमार्फत २ हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको जनाएका छन् ।जसमध्ये श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएको उनको भनाइ छ ।

महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगाररस्वरोजगार भएका छन् । मेयर बालेनले आर्थिक वर्ष २०८१–८२ मा दुवै योजनाहरूलाई थप परिष्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरू तयार गरेको उल्लेख गरेका छन् ।