सुनाखरी न्युज/ काठमाडौं।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले मङ्गलबार घरमा खेल्ने क्रममा महतोलाई सर्पले डसेको जानकारी दिनुभयो ।
सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित कालीगण्डकी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको उहाँले बताउनुभयो । मृतक महतोको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ । ढुङ्गा प्रहारबाट बुवाको मृत्यु – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एकजना व्यक्तिले ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालको ढुङ्गा प्रहारबाट निजका बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
पौडेलकाअनुसार आफ्नो घरमा पालेको कुकुरलाई बुबाले पिटेको विषयमा झगडा पर्दा छोराले प्रहार गरेको ढुङ्गा टाउकोमा लागेर बुबाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरी हत्यामा संलग्न निराजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।रासस