२०८१ मंसिर १२ , बुधवार

अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुँदैछ: अर्थमन्त्री पौडल

bishnu-poudel

सुनाखरी न्युज/ काठमाडौं ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका क्षेत्रमा आशाको दियो पाल्ने प्रयास भइरहेको बताएका छन् । अर्थमन्त्री पौडेलले  नेपाल उद्योग परिसंघ (सीएनआई)का प्रतिनिधिसँगको छलफलमा यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको दाबी गरे । उनले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी हुन आग्रह गरे ।

‘प्रधानमन्त्री चौथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टास्न आउनुभएको होइन । समस्या देखेरै समाधान गर्न यो सरकारमा आउनु भएको हो,’ उनले भने, ‘अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।’

उनले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसैमा केन्द्रित भई सरकारले काम गर्ने बताए ।

छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिए ।

 

उनले विगतका संकुचनकारी मौद्रिक नीतिले अर्थतन्त्र विस्तार हुन नसकेको भन्दै चालुपूँजी कर्जा मार्गदर्शन र पूँजीको वर्गीकरण मार्गदर्शनका कारण उत्पादनशील क्षेत्र र निर्माण क्षेत्र बढी प्रभावित भएकाले यी दुई मार्गदर्शन खारेज हुनुपर्नेमा जोड दिए ।

परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पूँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।