२०८१ मंसिर १२ , बुधवार

बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको सरकारको भनाइ

Capture

सुनाखरी न्युज/ काठमाडौं।

सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू अहिलेसम्म सुरक्षित रहेको बताएको छ।शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थीहरू अहिलेसम्म सुरक्षित रहेको र उनीहरूको सहजताका लागि थप प्रयास भइरहेको जनाएको छ।

‘बंगलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ।’

तत्कालै थप सहयोगको आवश्यकता परे राजदूतावासमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले द्वितीय सचिव योजना बम्जन, +८८०१८८०६९१०१३ मा र रिया क्षेत्रीलाई +८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।बंगलादेशमा विद्यार्थीहरूले सरकारी जागिरको आरक्षणमा गरिएको विशेष व्यवस्थाविरूद्ध आन्दोलन गरिरहेका छन्।

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाहरूलाई त्यहाँ ‘मुक्ति योद्धा’ भनिन्छ। तीनै सेनाका सन्तानहरूलाई सरकारी जागिरमा विशेष आरक्षण दिने नीति सरकारले ल्याएको थियो। त्यसविरूद्ध विद्यार्थीहरूले आन्दोलन गरेका हुन्।आन्दोलनमा हिंसा भड्किँदा कम्तिमा ३२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम एएफपीले जनाएको छ। सन् २०१८ मा यसरी आरक्षणको नीति ल्याइएको थियो।

 

तर कयौं सातासम्म प्रदर्शन भएपछि सरकार निर्णयबाट पछि हटेको थियो।त्यसैबीच जुलाइ पहिलो साता बंगलादेशको उच्च अदालतले सरकारी निर्णयको पक्षमा फैसला गरेको अल्जजिराले जनाएको छ। उच्चको फैसलासँगै सरकारी जागिरमा एक तिहाइ कर्मचारीहरू स्वतन्त्रताका लागि लडेका परिवारका छोराछोरीले पाउने भएका थिए। यो समूहका लागि ३० प्रतिशतको आरक्षण छुट्याइएको थियो।यस्तो फैसला आएसँगै बंगलादेशका सरकारी र निजी विश्वविद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।