२०८१ माघ ३ , बिहिवार

‘बिपी कोइराला साहित्यकार, ‘साइकोलोजिस्ट’ सबैमा योग्य’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको स्मरण गर्नुहुँदै उहाँ साहित्यकार, ‘साइकोलोजिस्ट’ सबै कुरामा योग्य रहनुभएको बताउनुभएको छ ।राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका प्रणेता जननायक बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालयको शुभारम्भमा मन्तव्य राख्नुहुँदै सभापति देउवाले राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रका लागि जुनसुकै बलिदान गर्न तयार व्यक्ति भएको बताउनुभएको हो ।

“कांग्रेसीहरु पढ्दै पढ्दैनन् भन्ने एउटा चलन छ, अब पुस्तकालय भएपछि अवश्य पढ्नुहुनेछ भन्ने लाग्छ । बिपी कोइरालाका सम्बन्धमा मैले भन्ने गरेको छु, उहाँ धेरै ठूलो व्यक्ति हो । हरचिजमा साहित्यकार, साइकोलोजिस्ट सबैकुरामा योग्य हुनुहुन्थ्यो । राजनीति र साहित्यका साथसाथै धेरै कुरामा उहाँको योगदान छ”, सभापति देउवाले भन्नुभयो ।

महामन्त्री गगनकुमार थापाले जेलनेलको अवधिमा रहँदा पनि नेताहरूले अँगाल्नुभएको पठन संस्कृतिलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । “नेपाली कांग्रेसभित्र पठन संस्कृति अभिन्न अङ्ग बनाउनुपर्छ, तथ्यमा आधारित बहसका लागि पठन संस्कृति आवश्यक छ, कांग्रेस केन्द्रीय कार्यालय सेन्टर अफ बहस हुनुपर्छ”, महामन्त्री थापाले भन्नुभयो ।

उहाँले पार्टी कार्यालयको पुस्तकालय व्यवस्थित गर्न सभापतिको मार्गदर्शन महत्वपूर्ण भएको बताउनुहुँदै गर्व गर्नलायक पुस्तकालय बनेको धारणा राख्नुभयो । अध्ययनका लागि नयाँपुस्तालाई प्रेरित गर्न चाहने धारणा राख्दै महामन्त्री थापाले नेपाली जनताका जनजीविकाका बारेमा कांग्रेस केन्द्रीय कार्यालयमा शृखङ्लाबद्ध बहस चलाउने जानकारी गराउनुभयो ।“हामीसँग भएको स्रोतको उपयोग गर्छौं, बिपीले आफ्नै हातले लेख्नुभएको सामग्री छन्, अरु सङ्कलन गर्ने काम भइरहेको छ । पुस्तकालय हेर्ने छुट्टै विभाग बन्छ, यसलाई व्यवस्थित गर्दै धेरै काम हुनेछन्”, उहाँले भन्नुभयो ।

पुस्तकालयमा ३२ हजारभन्दा बढी किताब रहेको जानकारी गराउँदै महामन्त्री थापाले पुस्तकालय प्रत्येक दिन खुल्दा नयाँ पुस्ताले यसलाई प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयमा जोकोही गएर अध्ययन गर्नसक्ने व्यवस्था गरिएको महामन्त्री थापाले जानकारी गराउनुभयो । पार्टी केन्द्रीय कार्यालयलाई चलायमान गराउने उद्देश्य राखेको कांग्रेसले पुस्तकालयबाट खोज अनुसन्धानकर्तालाई मद्दत पुग्ने अपेक्षा राखेको छ ।

पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकका साथै अन्य बिषयका किताबसमेत समावेश छन् । नेपाली कांग्रेसको स्थापनाअघिका विभिन्न दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बिपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवं संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थराजनीतिलगायत पुस्तक पुस्तकालयमा उपलब्ध छन् ।  रासस