२०८१ मंसिर १२ , बुधवार

सरकारले सात दिन थप्यो सिमलताल घटना अध्ययनको समय

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चितवनको सिमलतालमा दुइटा गाडी दुर्घटना अध्ययन गर्न गठित कार्यदलको समयावधि सात दिन थप्ने निर्णय भएको छ।कार्यदललाई सुरूमा १० दिनको समय दिएकोमा थप सात दिन समय दिइएको कार्यदलका संयोजक छवि रिजालले बताए।

‘गृहमन्त्रीबाट सात दिन समय थप भएको जानकारी आएको छ। हामीले दुर्घटनास्थलको अध्ययन, दुर्घटनाबाट बाँचेकाहरूसँगको कुराकानी र सरोकारवालासँग छलफल गरेका छौं,’ रिजालले भने, ‘प्रतिवेदनलाई अन्तिम रूप दिन समयावधि थप गरिएको हो।’अध्ययनका क्रममा सिमतालभन्दा माथिको भिरालो जमिनमा ग्रामीण सडक खनेको पाइएको, बाटो खन्दा निस्केको माटोको उचित व्यवस्थापन नभएको र त्यसैले भेलबाढी उत्पन्न गराएको पाइएको कार्यदलका सदस्यसमेत रहेका यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए।

असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रु रहेको अनुमान गरिएको छ। बेपत्ता ६२ यात्रुमध्ये हालसम्म २४ जनाको शव फेला परेको छ। ७ जनाको सनाखत हुन बाँकी छ।यही घटनाको अध्ययन गर्न सरकारले असार ३१ गते गृहमन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहेका छन्।