२०८१ मंसिर ११ , मंगलबार

यातायात व्यवसायीको आन्दोलनले गण्डकीमा सार्वजनिक यातायात ठप्प

pokhara

सुनाखरी न्युज/ काठमाडौं ।

गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । राइड शेयरिङको विरोधमा उत्रिएका यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले माग सम्बोधन नगरेकोे भन्दै आइतबार विहानैदेखि सार्वजनिक यातायात ठप्प पारेका हुन् ।गण्डकी प्रदेशको राजधानी पोखरामा सार्वजनिक सवारी नचल्दा सडक सुनसान छ। निजी सवारी मात्रै चलेका छन्।  सार्वजनिक यातायात चढ्ने यात्रु मर्कामा परेका छन्। गण्डकी प्रदेशबाहिर जाने सवारी भने छिटफुट चलिरहेका छन्।शनिबार विज्ञप्ती जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले सार्वजनिक सवारी घर र ग्यारेजमा राखेर आन्दोलनमा सारिक हुन व्यवसायी र मजदुरलाई आह्वान गरेको थियो ।

‘उक्त कार्यले आम नागरिक तथा यात्रुवर्गमा पर्न जाने असुविधाप्रति हामी क्षमा प्रार्थी छौं’, अध्यक्ष केदार पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।दुई पांग्रे र चार पांग्रे सवारीलाई राइड शेयरिङ सञ्चालन गर्न नदिन यातायात व्यवसायीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा बिहीबार ७ बुँदे ज्ञापनपत्र बुझाएका थिए। दुई पांग्रे र चार पांग्रे निजी सवारीसाधनलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने व्यवसायीको पहिलो माग हो।

श्रम आयोगको तत्काल गठन, सडक सुरक्षा योजना तत्काल लागु, यातायात प्राधिकरण गठन गरी यातयात सञ्चालनको कार्यविधि तयार र वैज्ञानिक भाडादर समायानुकुल समायोजन हुनुपर्ने माग रहेको छ। यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टीसँगै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशील बनाउनुपर्ने शर्त राखेका यातायात व्यवसायीलाई प्रदेश सरकारले चासो नदेखाएको उनीहरुको आरोप छ।