सुनाखरी न्युज/ काठमाडौं ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौँ लगिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उनले बताए।
स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका थिए। बेपत्ता हुनेहरुमा ३७ वर्षीय जीतबहादुरसहित उनका बुबा ६० वर्षीय सोलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ कान्छी गुरुङ तथा ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार रहेका छन्।
शनिबार राति तीन बजे पहिरो जाँदा जीतबवहादुरले सञ्चालन गर्दैआएको कृषि फर्म र नजिकै रहेको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। उद्धारका लागि जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। रासस