२०८१ आश्विन ५ , शनिवार

मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ को लागि अडिसन हुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

‘मिस युनिभर्स नेपाल २०२४’ को लागि यहि सोमबार अडिसन हुने भएको छ । प्रिलिमिनरी राउन्डबाट छनौट भएका ६० जना मध्य ३५ जनाको अडिसनमार्फत हिल्टन काठमाडौँमा छनोट हुने आयोजकले जनाएको छ ।अडिसनको जज प्यानलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका छन् ।

त्यस्तै आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका म्यानेजिङ्ग डिरेक्टर आलोक छेत्री, सिइओ एवम प्रेसिडेन्ट सबी पुरी र मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले जजको रुपमा अडिसन लिने भएका छन् । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवम पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने भर्चुअल माध्यम देखी सहभागीता जनाउनेछन् ।

यो अडिसनमा छनोट हुने ३५ प्रतिस्पर्धीले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । उनिहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिंग, आर्थिक व्यवस्थापन लगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाइने आयोजकले जनाएको छ ।

यसपालीको मिस युनिभर्स नेपाल २०२४ मा ट्रान्सजेन्डर, विवाहित, गैर नेपाली महिलाहरू र डाक्टर, इन्जिनियर, पाइलट लगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको उत्साहजनक र समावेशी सहभागीता रहेको मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले जानकारी दिनुभएको छ ।‘मिस युनिभर्स नेपाल २०२४’ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । बिजेताले नोभेम्वरमा हुने मिस युनिभर्स २०२४ को लागि मेक्सिकोमा १०० देशहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।