२०८१ माघ २ , बुधवार

प्रधानमन्त्री नियुक्तिविरुद्धको मुद्दाको साउन ३० मा पेसी

Capture

सुनाखरी न्युज / काठमाडौं ।

केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्तिमा संविधानको गलत धारा प्रयोग भएको दाबी गरिएको रिट संवैधानिक इजलासमा साउन ३० गते सुनुवाइको पहिलो पेसी तोकिएको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीशले रिट निवेदनको पहिलो सुनुवाइ गर्नेछन् ।

यसअघि साउन ६ गते सर्वोच्चको एकल इजलासले उक्त रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । न्यायाधीश बालकृष्ण ढकालको इजलासले संविधानको धारा ७६ को व्याख्या गर्नुपर्ने भएको भन्दै संवैधानिक इजलासमा पठाएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार गरेको नियुक्ति गैरकानुनी रहेको भन्दै तीन जना अधिवक्ताले असार ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरूले धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः उपधारा ३ आकर्षित हुने र यस अनुसार सबैभन्दा ठुलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने दाबी गरिएको थियो ।