२०८१ पुष ११ , बिहिवार

प्रहरी नायब महानिरीक्षक (डीआईजी) केसीको सरुवा

Capture

सुनाखरी न्युज / काठमाडौं ।

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारमा गृहमन्त्री रमेश लेखक आएको दुई साता नहुँदै प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोजकुमार केसीको विशेष ब्युरोबाट सरूवा भएको छ।

असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा कांग्रेस नेता लेखक गृहमन्त्री नियुक्त भएका थिए। गृहमन्त्री बनेको दुई साता नबित्दै उनले नेपाल प्रहरीमा महत्त्वपूर्ण मानिने विशेष ब्युरोबाट डिआइजी केसीलाई हटाएका हुन्।केसी दुई महिना नपुग्दै ब्युरोबाट सरुवा भएका हुन्।

डीआईजीमा बढुवा भएपछि उनलाई विशेष ब्युरोमा पदस्थापन गरिएको थियो। तर सरकार परिवर्तन भएसँगै पहिलो निशानामा केसी परेका छन्। केसी नक्कली भुटानी शरणार्थीको फाइल अगाडि बढाउने अधिकृत हुन्। उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाइएको थियो।

पछिल्लोपल्ट बेचन झालाई पनि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर विदेश रहेका बेला भारतबाट ल्याइएको थियो। भारतीय प्रहरीले बेचन र प्रतीक थापालाई पक्राउ गरेर विशेष ब्युरोसँग समन्वय गरी नेपाल पठाएको थियो।

केसीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको छ। प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई विशेष ब्युरोको जिम्मेवारी दिइएको छ।यस्तै सरकारले सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवाली र काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेलाई पनि सरुवा गर्ने तयारी गरिरहेको छ।