२०८१ पुष ११ , बिहिवार

काठमाडौंमा ‘हाइकिङ’ जानेहरूलाई लुट्ने माइलाको समूह

Capture

सुनाखरी न्युज / काठमाडौं ।

काठमाडौँ उपत्यकाको हाइकिङ स्पटहरूमा शृङ्खलाबद्ध लुटमा संलग्न गिरोहका मुख्य नाइकेलाई प्रहरीले सार्वजनिक गरेको छ । गिरोहका मुख्य नाइके हुन् मकवानपुरको गढी गाउँपालिका–१, फुलबारी घर भएका धनबहादुर स्याङतान उर्फ ‘माइला’ । २०८० चैत २९ यता पटकपटक उनको समूहले काठमाडौँको शिवपुरी, चम्पादेवी र नागार्जुन क्षेत्रमा हाइकिङ हिँडेकाहरूलाई लुटपाट गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

शनिबार लुटेर भाग्दै गरेको अवस्थामा उनी स्युचाटारबाट पक्राउ परेका हुन् । नागार्जुनको बिन्ध्यवासिनी जङ्गलमा लुटेर भाग्दै गरेको अवस्थामा प्रहरीले चेक प्वाइन्ट पक्राउ गरेको हो ।हाइकिङ जानेहरूलाई लुट्नेमा धनबहादुरका छोरा, सालो र छिमेकीको पनि संलग्नता देखिएको छ । एसपी अधिकारी भन्छन्, ‘अरु संलग्नबारे अनुसन्धान गर्दैछौँ ।’

लुटेर सङ्कलन गरेको ७ तोला ६४ लाल सुनका गहना, ४ तोलाको चाँदीको ब्रासलेट र १३ हजार नगद स्याङ्तानको साथबाट प्रहरीले बरामद गरेको छ । उनको समूहले हाइकिङ स्पटमा खुकुरी देखाएर गहना र मोबाइल लुट्ने गरेका थिए । लुट्न प्रयोग गरिएको दुई थान खुकुरी पनि बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए ।

बुढानीलकण्ठस्थित तारेभिर, बागद्वार र गिरिजा शान्तिपार्क सडकबाट माइलाको समूहले १२ थान मोबाइल, सुन र दुईवटा घडी लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । असार २८ मा तारेभिर जाँदै गरेका दुई जनालाई बन्धक बनाएर यातना दिएको पीडितहरूले बताएका छन् । बुढानीलकण्ठ नगरपालिका–३ मा एक जना किशोरीलाई माइलाले मोबाइल लुटेर बलात्कार प्रयास गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।असार १५ मा बिहान दक्षिणकाली नगरपालिका–५ स्थित चम्पादेवी मन्दिर नजिक लालबहादुर खड्का समेत ५ जनाबाट उनीहरूले ८ थान मोबाइल लुटेका थिए । चम्पादेवीबाट लुटेको १ थान मोबाइल बरामद गरिएको एसपी नवराज अधिकारीले बताए ।