२०८१ मंसिर १२ , बुधवार

उपत्यकामा बाढीको वितण्डा, विभिन्न ठाउँ डुबानमा

dubana

सुनाखरी न्युज / काठमाडौं ।

काठमाडौँ उपत्यकामा गएरातिदेखि भइरहेको भारी वर्षाका कारण बस्तीका केही घरभित्रै बाढी पसेको छ । ।बाग्मती नदी किनारका शङ्खमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बाग्मतीको बाढी पसेको छ । बल्खु तरकारी बजार क्षेत्रमा पनि बाढी पसेर क्षति पुर्‍याएको छ ।

भक्तपुरको मनहरा र हनुमन्ते आसपासका बस्ती डुबानमा परेका छन् । भक्तपुरको हनुमन्ते खोलाले जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ ललितपुरको च्यासलमा रहेको एन्फाको फुटबल मैदानमा र नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुल माथिबाटसमेत बाढी बगेको थियो । अहिले सो क्षेत्रमा बाढीको सतह केही घटे पनि हिलैहिलो भएकाले हिँड्नै नसकिने अवस्था छ । च्यासलस्थित एमाले केन्द्रीय कार्यालय, फुटबल मैदान, अस्थायी प्रहरी पोष्ट र पार्टी प्यालेसमा बाढी पसेको छ ।

सानेपा बल्खुदेखि शंखमुलसम्मको बागमती किनारको सडक क्षेत्र र सानेपाको रााम मन्दिर क्षेत्रमा पनि बाढी पसेर हिलाम्मे भएको छ ।जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारबाट यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । काठमाडौँको धोबीखोला, चाबहित र बागमती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।