२०८१ मंसिर ११ , मंगलबार

आतंक मच्याउँदै हिँडेको बाघ नियन्त्रणमा

sher 45

सुनाखरी न्युज/ काठमाडौं ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा केही दिनयता बाघ देखापरेको थियो। बुधबार बेलुका घाँस काट्ने महिलाले उखुबारीमा बाघ देखेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरे।बिहीबार बिहान स्थानीय २६ वर्षीया हीरा शाहलाई मारेर बाघ नजिकैको उखुबारी छिरेको हो।

‘बाघ देखापरेको सूचनापछि हामी बिहान प्रत्यक्षदर्शीलाई लिएर एरिया हेर्दै थियौँ। बस्तीनजिकै भएकाले कसरी बाघलाई नियन्त्रणमा लिन सकिन्छ भनेर विश्लेषण गर्दैथियौँ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘बाघ हेर्न ड्रोन उठाउने तयारी गर्दै गर्दा अर्कोपट्टिबाट होहल्ला आयो। त्यहाँ गएर हेर्दा मान्छेलाई लगेको रहेछ।’

स्थानीयका अनुसार धान खेतनजिकै उखुबारी छ। बिहान केही महिला खेतको घाँस उखेलेर धान गोड्दै थिए। त्यसैबेला उखुबारीबाट आएको बाघले दोधारा चाँदनी नगरपालिका–२, कमलशा टोलकी २६ वर्षीया हीरा शाहलाई आक्रमण गर्‍यो। उनलाई घिसार्दै उखुबारीतर्फ लगेको थियो।यसै क्रममा आज बिहान ड्रोन उडाउँदा उखुबारीभित्र बाघ घुमिरहेको देखिएको छ। बिहीबार अपराह्न ४ बजेदेखि प्रयास गरिरहेको प्राविधिक टोली शुक्रबार बिहान बेहोस हुने सुई लगाएर बाघ समात्न सफल भएको हो।