२०८१ मंसिर १२ , बुधवार

‘भूत’ भगाएर मनाइयो गठेमंगल पर्व

Gatha Mangal

सुनाखरी न्युज/ भक्तपुर।

श्रावण कृष्ण चतुर्दशीका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले  गठेमंगल पर्व मनाएका छन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ ।

काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा युवाहरु जम्मा भई शुक्रबार  साँझ आँगो बालेर भूत भगाउने गर्छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ ।

 

किंवदन्ती अनुसार प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव थियो । त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैं कानमा घण्टी झुन्ड्याएर हिँड्ने गर्थ्यो। त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो ।

त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्थ्यो । उसको गतिविधिबाट सर्वसाधारण मानिस आतङ्कित थिए। एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रही आएको छ ।