२०८१ मंसिर ११ , मंगलबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहको दाबी पेस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् ।आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् ।

एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन् । उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए ।

पुन: समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घ सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाहलाई फेरि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

सुदूरपश्चिमको मुख्यमन्त्रीको दौडमा कांग्रेसबाट प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवा पनि थिए ।पार्टी सभापति शेरबहादुर देउवाले पनि अहिले शाहलाई मुख्यमन्त्रीमा सहयोग गर्न अन्य आकांक्षीहरूलाई निर्देशन दिएका थिए ।