२०८१ मंसिर ११ , मंगलबार

देशभर २७ जनामा हैजा संक्रमण पुष्टि, उपत्यकामा सबैभन्दा बढी

ministry-of-health-1618304803

सुनाखरी न्युज/ काठमाडौं ।

मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ( ईडीसीडी)  का अनुसार मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ।

काठमाडौंको टोखा र कैलालीको धनगढीमा पनि हैजा संक्रमित भेटिएका छन्। भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरूबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

हैजा संक्रमितको दिसाले पानीको स्रोत प्रदूषित गरेको खण्डमा महामारीको रूप लिन सक्छ। मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकीले बुधबार विज्ञप्ति जारी गरेर हैजा अति संक्रामक तथा शीघ्र फैलने भएकाले सजग रहन सबैलाई आग्रह गरेका छन्।