२०८१ मंसिर ११ , मंगलबार

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडिन्

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।हसिनाले ढाकास्थित प्रधानमन्त्री निवास ‘गणभवन’ बाट सेनाको हेलिकप्टर चढेर सुरक्षित स्थानमा गएको पनि विभिन्न समाचार संस्थाले लेखेका छन्। उनी देश छाडेर हेलिकप्टरमा भारततर्फ उडेको दाबी भइरहेका छन्।

प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् ।बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् । तर, सम्भव भएन ।

बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी समेत छ ।

आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ । प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा आइतबार मात्रै कम्तीमा ९० जना मारिएको र सयौं घाइते भएको बीबीसीले लेखेको छ ।तनावका कारण बंगलादेशमा सोमबार देशभर इन्टरनेट सेवा समेत अबरुद्ध छ ।