सुनाखरी न्युज/ काठमाडौं ।
सोमबार साँझदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी किनार क्षेत्र जलमग्न बनेका छन्।लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ ।
निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ ।
काठमाडौंको बागमती, विष्णुमती, रुद्रमती मनोहरा, ललितपुरको कोड्कु, भक्तपुरको हनुमन्ते लगायतका खोलामा जलसतह बढेपछि किनारमा रहेका बस्ती डुबानमा परेका छन्।
बागमती, विष्णुमती, कोड्कुलगायत खोलाले जल सतह पार पर्दा किनारका बस्ती डुबानमा परेका छन्।कुपोण्डोलस्थित ललितपुर महानगरपालिकाको वडा कार्यालय पनि डुबानमा परेको छ ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंका स्वयम्भु, सानो भर्याङ, ठूलो भर्याङ, लैनचौर, पुतलीसडक, माइतीघर, कोटेश्वर लगायतका मुख्य सडक र सहायक सडकहरु डुबानमा परेका छन् । कुलेश्वर, कालीमाटी क्षेत्र पनि डुबानमा छन् ।