सुनाखरी न्युज/ काठमाडौं ।
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नआउने भएकी छिन् ।शेख हसिना अब बंगलादेशको राजनीतिमा नफर्किने उनका छोराले बताएका छन् ।
हसिनाको छोरा तथा प्रधानमन्त्री रहँदा हसिनाको पूर्व आधिकारिक सल्लाहकार समेत रहेका सजीव वाजेद जोयले सोमबार बीबीसीसँगको एउटा अन्तरवार्तामा यस्तो बताएका हुन् । परिवारको जोरजर्बजस्तीमै हसिनाले आफ्नो सुरक्षाका लागि देश छाडेको पनि उनले बताए ।
सोमबार सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर हसिनाले भारतमा शरण लिएकी थिइन् । जोयका अनुसार हसिनाले आइतबारदेखि नै राजीनामा दिने विचार गरिरहेकी थिइन् ।
पछिल्लो घटनाक्रमका कारण आफ्नी आमा निराश बनेको पनि उनले बताए । लड्खडाइरहेको राज्यलाई हसिनाले एसियाको उदीयमान अर्थतन्त्र बनाएको तर आफूले दिएको योगदानको यो फल मिलेकोमा उनी निराश बनेको पनि बताइएको छ । बङ्गलादेशमा हिंसा भड्काउन पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइएको हात रहेको आफ्नो आशङ्का भएको जोयले बताका छन् ।