२०८१ मंसिर १३ , बिहिवार

वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगि गरेको आरोपमा एक युवक पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

विदेश पठाउने भनेर झण्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिराहा घर भएर ललितपुरस्थित इमाडोलमा बस्ने गुनेश कुमार ठाकुर छन् । सिराहाको करजन्हा नगरपालिका–६ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्ने ठाकुरलाई इमाडोलबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक एसपी काजीकुमार आचार्यले बताए।

ठाकुरले रविन्द्र सापकोटासँग साझेदारी गरेर ओम इन्टरन्याशनल प्रालि चलाइरहेका थिए। उनले यूएई, कतार, साउदी अरब, मलेशिया र कुवेत पठाउने भनेर युवाबाट रकम लिएको पाइएको एसपी आचार्यले बताए। विदेश पठाउने भन्दै ठाकुरले ८५ युवाबाट रकम लिएको पाइएको छ। सबै गरेर एक करोड ९७ लाख १७ हजार रुपैयाँ ठगेको देखिएको एसपी आचार्यले बताए।

३२ वर्षीय ठाकुरले १ करोड ९७ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । ठाकुरलाई इमाडोलबाट पक्राउ गरेर प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ । उनीविरुद्ध ८५ जनाले उजुरी दिएका छन् ।ठाकुर यसअघि ८ वटा मुद्दामा फरार रहेको अपराध रेकर्डमा देखिएको छ ।