२०८१ मंसिर ११ , मंगलबार

बंगलादेशको अन्तरिम सरकार प्रमुख युनुस आज ढाका पुग्ने, आजै शपथ

Bangladesh

सुनाखरी न्युज/ काठमाडौं ।

शेख हसिनाको बहिर्गमनपछि बंगलादेशमा अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले आज शपथ लिने भएका छन्।

विद्यार्थीहरूको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि हसिनाले प्रधानमन्त्रीबाट राजीनामा गर्दै देश छाडेलगत्तै नोबल पुरस्कार विजेता युनुस मंगलबार त्यहाँको अन्तरिम सरकार प्रमुख नियुक्त भएका थिए।

अन्तरिम सरकार प्रमुख नियुक्त हुँदा उनी फ्रान्सको पेरिसमा थिए। पेरिसबाट बिहीबार दिउँसोसम्ममा ढाका आउने र बेलुका अन्तरिम सरकार प्रमुखको शपथ लिने कार्यक्रम बंगलादेशी समाचार संस्थाहरूलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

समाचारहरूका अनुसार युनुस दुबई हुँदै दिउँसो २:१० बजे ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। त्यसपछि राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग बैठक बस्नेछन्। बैठकपछि बेलुका ८ बजे उनले शपथ लिनेछन्।

युनुसले आजै आफू नेतृत्वको अन्तरिम सरकारको १५ सदस्यीय सल्लाहका समिति गठन गर्ने तयारी गरेको भारतीय समाचार संस्था द हिन्दुले उल्लेख गरेको छ।

देश फर्कनुअघि युनुसले आन्दोलनमा सहभागी विद्यार्थी र विद्यार्थीको आन्दोलनलाई बुलन्द बनाउन सहयोग गर्ने सबैलाई बधाई ज्ञापन गरेका छन्।

आफ्नो अफिसियल वेभसाइट युनुस सेन्टरमार्फत विज्ञप्ती जारी गर्दै उनले नयाँ जितको राम्रो सदुपयोग गर्न र शान्त रहन पनि आह्वान गरेका छन्।

 

उनले नयाँ संसार सिर्जनाका लागि नेतृत्व दिन तयार रहेका युवाहरू कुनैपनि अर्थहीन हिंसामा गएर मौका गुमाउन नहुने पनि बताएका छन्।

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिन, सेना प्रमुख र आन्दोलनरत विद्यार्थी प्रतिनिधिबीच अन्तरिम सरकार गठनबारे छलफल भएको थियो।

छलफलपछि नोबल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मुहम्मद युनुसलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय भएको थियो।

युनुसलाई अन्तरिम सरकार प्रमुख बनाउन विद्यार्थीहरूले नै माग गरेका थिए। अन्तरिम सरकार प्रमुख बनाउने भएपछि विदेशमा रहेका उनी बंगलादेश फर्कन लागेका हुन्।

 

अब बंगलादेशमा उनकै नेतृत्वको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका मागहरू सम्बोधनका लागि काम गर्नेछ।