२०८१ मंसिर ११ , मंगलबार

हवाई सुरक्षा सुधारबारे छानबिन समिति गठन गर्न निर्देशन

thumb

सुनाखरी न्युज/ काठमाडौं ।
हवाई दुर्घटनाका विषयमा विज्ञ व्यक्तिहरु सम्मलित एक स्वतन्त्र छानबिन समिति गठन गर्न संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले  निर्देशन दिएको छ । सरकारले दुर्घटनापिच्छे छानबिन आयोगहरु गठन गर्ने, तर त्यसबाट परिणाम नआउने अवस्था देखिएको भन्दै समितिले हवाई सुरक्षाको अवस्था, मापदण्ड र सुधारका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने गरी स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको हो ।

 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा पछिल्लो समय भएका हवाई दुर्घटनाहरुको समीक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सम्बद्ध अधिकारीहरुसँगको छलफलपछि समितिले यसअघि समितिले निर्देशन गरिसकेका, तर सरकारले कार्यान्वयन नगरेका विषयहरु समेत पुनस् स्मरण गराएको छ ।

 

समितिका सभापति राजकिशोर यादवले पछिल्लो समय निरन्तर भइरहेका हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानबिन समितिहरु बनेपनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गइरहेको भन्दै नेपालको हवाई सुरक्षा, सुरक्षा मापदण्डको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धी कानून एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भएरनभएको सम्बन्धमा १५ दिन भित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिश गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिइएको बताए ।

उनका अनुसार समितिले नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक रहेको भन्दै उक्त नीति तत्काल तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ ।