२०८१ मंसिर ९ , आइतवार

भैरहवाका ४ उद्योगले बुझाए डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका भैरहवा क्षेत्रका चार उद्योगले बक्यौता बुझाएका छन्।केही दिनअघि दुई उद्योगले बक्यौता बुझाएका थिए। आज थप दुई उद्योगले बक्यौता बुझाएका हुन्।

प्राधिकरणका अनुसार यशोदा फुड्स प्रालिले चार लाख २५ हजार २३१ रूपैयाँ र जयदुर्गा प्लास्टिक उद्योगले ७० हजार ५३२ रूपैयाँ बक्यौता बुझाएका छन्।सोना प्याकेजिङले तीन लाख ५५ हजार ६७ रूपैयाँ र सोना पोलिमर्सले तीन लाख ४६ हजार ३८९ रूपैयाँ बुझाएका हुन्।

प्राधिकरण र ६१ वटा उद्योगबीच डेडिकेटेड र ट्रंक लाइनको विद्युत बक्यौताको विषयमा विवाद चल्दै आएको छ।लोडसेडिङको समयमा उद्योगहरूलाई अतिरिक्त विद्युत उपलब्ध गराइएको र त्यस्ता ६१ उद्योगले प्रिमियम शुल्क उपलब्ध नगराएको नेपाल विद्युत प्राधिकरणले बताउँदै आएको छ।

केही ठूला उद्योगीहरूले भने प्राधिकरणले फर्जी बिल थमाएको भन्दै यस्तो रकम तिर्न नै अस्वीकार गर्दै आएका छन्।यो विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरेको छ।