२०८१ पुष ८ , सोमवार

बैंकहरुमा पुनः बढ्न थाल्यो निक्षेप, सस्तियो कर्जाको ब्याज

New Note

सुनाखरी न्युज/ काठमाडौं ।
बैंकिङ प्रणालीमा साउन लागेदेखि घट्न थालेको निक्षेप पछिल्लो केहि दिन यतादेखि पुन : बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार निक्षेप संकलन ६४ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। तथ्यांकअनुसार साउन २० गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप छ।

साउन १९ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन २० गते भने ६ अर्ब रुपैयाँले बढेर ६४ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन ६ अर्बले बढेको छ । गत असार १९ गते ५७ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २० गते ५७ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने स्थिर छ । शनिबारसम्ममा ५१ खर्ब ४५ अर्ब प्रवाह भएकोमा आइतबार पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ । सो समयावधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको छ। शनिबारसम्ममा ४५ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले आइतबार ४५ खर्ब ५२ अर्ब प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.५३ बाट घटेर ७८.४५ प्रतिशतमा झरेको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम छ ।

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधारका रुपमा आधार दर (बेस रेट) लाई लिने गरिन्छ । बैंकहरुको यस्तो आधार दर पछिल्लो समय घट्दै गएको छ । अहिले बैंकहरुको आधार दर ६ प्रतिशतसम्म झरेको छ।

बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार सबै बैंकबाट एकल अंकको ब्याजदरमा नै कर्जा पाइने अवस्था देखिएको छ । गत आर्थिक वर्षको अन्तिमसम्ममा २ बैंकको आधार दर ६ प्रतिशत, ५ बैंकको ७ प्रतिशत, ११ बैंकको ८ प्रतिशत र २ बैंकको ९ प्रतिशत छ ।

बैंकहरुले आधार दरमा केही प्रतिशत प्रिमियम थप गरी ग्राहकलाई कर्जा दिने गर्छन्। विगतमा धेरै तरलता हुँदा बैंकहरुले आधा दरमै पनि कर्जा दिएका छन्। बैंकहरुमा अहिले ७ खर्ब बढीको लगानीयोग्य रकम छ। जसले गर्दा बैंकहरु अत्यन्तै न्युन प्रिमियममा नै कर्जा दिन थालेका छन्।