सुनाखरी न्युज/काठमाडौं ।
रकम अभावमा सहकारी पीडितको मृत्यु भएको भन्दै पीडितहरूले शवसहित र्याली निकालेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले र्याली निकालेको हो।
‘मृतक पीडित ८० वर्षीय राजेन्द्र स्थापितलाई ब्रेन ह्यामरेज भएको थियो,’ महासंघका अध्यक्ष कुशलव केसीले भने, ‘हामीले उनले रकम राखेको सहकारीका अध्यक्ष र डाक्टरलाई राखेर कुराकानी पनि गरेका थियौं, अध्यक्षले पैसा दिने कबुलेका पनि थिए।’
पाँच लाख रूपैयाँ नहुँदा स्थापितको उपचार नै नभई मृत्यु भएको दाबी संघले गरेको छ। वीर अस्पतालमा ५ लाख रुपैयाँको अभावले राजेन्द्र स्थापितको शनिबार मृत्यु भएको उनका आफन्तहरूले जनाएका छन् ।कुनै सन्तान नभएकोले स्थापितकी श्रीमतीको संरक्षणको लागि सरकारले पहल गरिदिनुपर्ने महासंघको भनाइ छ।
स्थापितले युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा राखेको एक करोड ३६ लाख रूपैयाँ फिर्ता पाउन नसकेको महासंघले उल्लेख गरेको छ। महासंघले मृतकको शवसहित माइतीघर मण्डलासम्म र्याली गर्नेछ।