२०८१ मंसिर ११ , मंगलबार

लमजुङ सुनचाँदी व्यवसायी संघको अध्यक्षमा बमबहादुर विश्वकर्मा निर्वाचित

Lamjung

सुनाखरी न्युज/ लमजुङ।

लमजुङ सुनचाँदी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभा तथा चौंथो जिल्ला अधिवेशनले बमबहादुर विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर सुनार, उपाध्यक्षमा तोत्र बहादुर विश्वकर्मा, सचिवमा बलराम विश्वकर्मा, कोषाध्यक्षमा डिलबहादुर सुनार, सहसचिवमा सुनिल विश्वकर्मा, सदस्यहरुमा गणेश बहादुर विश्वकर्मा, विपुल विश्वकर्मा, बाबुराम सुनार, सुन्तली सुनार, मनोनित सदस्यहरुमा प्रकाश विश्वकर्मा, हर्क खाती सर्वसम्मत चयन भएका छन् । संघका निवर्तमान अध्यक्ष देवबहादुर विश्वकर्मा नवनिर्वाचित कार्यसमितिको पदेन सदस्य रहेका छन्

लमजुङ सुनचाँदी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभा तथा चौंथो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई बेंसीशहरमा शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाईलीले व्यवसायीलाई पर्ने सुनसम्बन्धी सबैखाले मुद्दाको वकालत गर्न ५ मिनेटभित्रै कानुन व्यवसायी उपलब्ध गराउने बताउनुभयो ।
सुनचाँदी व्यवसायीहरुले सुनसम्बन्धी मुद्दाहरुमा निकै समस्या झेल्नुपरेको बताउँदै व्यवसायीको पक्षमा वकालत गर्ने गरी महासंघले ५ मिनेटभित्र कानुन व्यवसायी उपलब्ध गराइने अध्यक्ष रसाईलीले बताउनुभयो ।

लमजुङ सुनचाँदी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभा तथा चौंथो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई बेंसीशहरमा शनिबार सम्बोधन गर्दै अध्यक्ष रसाईलीले देशको जुनसुकै कुनाका समस्यालाई सम्बन्धित जिल्लामै रहेर वकालत गर्दै आएका कानुन व्यवसायीलाई उपलब्ध गराइने बताउनुभयो । व्यवसायीहरुले अनावश्यक रुपमा तनाव झेल्दै आएको भन्दै अध्यक्ष रसाईलीले आफ्नो पहिलो निर्णय सार्वजनिक गर्नुभएको हो ।

महासंघको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक लमजुङ आउनुभएका अध्यक्ष रसाईलीले आफू अध्यक्ष भएपछि भइपरी आउने समस्या समाधानका लागि राहत कोष स्थापना गर्ने, व्यवसायीलाई आन्तरिक लेखापरीक्षणको विषयमा प्रशिक्षण गराउने, व्यवसायीको आधिकारिक मापदण्ड अर्थात आचारसंहिता निर्माण गर्ने लगायतका कामलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो ।

 

आचारसंहिता निर्माण गरेर सम्बन्धित निकायमा पेश गरिएको बताउँदै अध्यक्ष रसाईलीले भदौ १ गते सबै व्यवसायीको हातहातमा आउने गरि काम अगाडि बढेको बताउनुभयो । महासंघले निर्देशिका निर्माणको प्रक्रिया पनि अगाडि बढाएको अध्यक्ष रसाईलीले बताउनुभयो । भन्सारमा लाग्ने राजस्व कम गर्नका लागि सरकारसँग पहल गरिरहेको अध्यक्ष रसाईलीले बताउनुभयो।
लमजुङ सुनचाँदी व्यवसायी संघका अध्यक्ष देवबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यावसायी महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य मोहनकुमार सुनार, बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, महासंघका सचिवद्धय निर्मल दियाली, टुलकप्रसाद विश्वकर्मा, प्रवक्ता जिवनज्योति सदाशंकर, सुनचाँदी व्यवसायी संघ गण्डकी प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतम, नेकपा एमाले लमजुङका उपाध्यक्ष जितबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य होमबहादुर विक, गोरखा सुनचाँदी व्यवसायी संघका अध्यक्ष टेकबहादुर विश्वकर्मा, राष्ट्रिय वाणिज्य बैंक बेसीशहर शाखा प्रमुख धर्मप्रसाद खनाल, लमजुङका पूर्व अध्यक्ष मनिलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सुनचाँदी व्यवसायी संघ लमजुङका वरिष्ठ उपाध्यक्ष बमबहादुर विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव कृष्णबहादुर विश्वकर्माले सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको अवसरमा महासंघको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र गण्डकी प्रदेशमा निर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।