२०८१ मंसिर ९ , आइतवार

अमेरिकी राष्ट्रपति बाइडेनको ‘गाजा युद्धविराम योजना’ हमासको नयाँ अडान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

हमासले गाजाको तर्फबाट वार्तामा सहभागी मध्यस्थकर्तालाई अरू थप वार्ता गर्नुको सट्टा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्तुत गरेको युद्धविराम योजना कार्यान्वयनमा अडान राख्न माग गरेको छ ।इजरायली सैन्य कारबाहीका कारण असुरक्षित प्यालेस्टिनीहरू सुरक्षाका लागि एक पछि अर्को स्थानमा भागिरहनुपरेको पीडाबीच हमासको यो भनाइ आएको हो ।

गाजामा इजरायली आक्रमण जारी रहँदा र इरानसम्बद्ध नेताको हत्याले द्वन्द्वको डर उत्पन्न गरेपछि अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले इजरायल र हमासलाई युद्धविराम र बन्धक मुक्ति सम्झौताको लागि वार्ता पुन ः सुरु गर्न आह्वान गरेका हुन् ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राजनीतिक लाभका लागि युद्ध लामो बनाएको आरोप लागिरहेका समय इजरायली वार्ता टोलीले अमेरिका, कतार र इजिप्टले बिहीबारको लागि दिइएको वार्ताको निमन्त्रणा स्वीकार गरेको छ ।यसैबीच, अमेरिकी राष्ट्रपति बाइडेनले गत मे ३१ मा तयार गरेको र पछि राष्ट्रसङघीय सुरक्षा परिषद्बाट अनुमोदित युद्धविराम योजनाको कार्यान्वयनको पक्षमा आफ्नो समूह रहेको दाबी हमासले आइतबार गरेको छ ।

बाइडेनले तीन चरणको ‘स्थायी युद्धविराम तथा सबै बन्धकको रिहाइको रोडम्याप’ लाई इजरायली प्रस्तावको युद्धविराम योजनाका रूपमा प्रस्तुत गर्नुभएको थियो । यद्यपि, त्यसपछि मध्यस्थताका लागि भएका प्रयासहरू सफल हुन सकेका थिएनन् ।दक्षिणी गाजाको मुख्य सहर खान युनिसलाई निरन्तरको बमबारी र लडाइँले ध्वस्त पारेको छ भने इजरायलको गाजाको अल जलाला क्षेत्र छोड्न आदेश जारी गरेपछि सयौं गाजाबासी प्यालेस्टिनीहरू उत्तरी छिमेकबाट भागेका छन् ।

हमासले गत मङ्गलबार आफ्ना गाजा प्रमुख याह्या सिनवारलाई जुलाई ३१ मा इरानमा मारिएका हमासका राजनीतिक नेता इस्माइल हानियाको जिम्मेवारी तोकेको छ । हानियाको हत्यापूर्व बेरूतमा भएको हवाई आक्रमणमा हेजबुल्लाहका सैन्य प्रमुख फाउद सुकरको मृत्यु भएको थियो । यसले मध्यपूर्वमा इजरायलविरोधी भावनालाई थप मलजल दिएको र मध्यपूर्वमा थप तनाव बढ्ने अड्कलबाजीहरू गरिएका थिए ।वस्ती खाली गर्न दिइएका यस्ता आदेशपछि बढ्ने सैन्य आक्रमणको भयले प्यालेस्टिनीलाई धेरै पटक विस्थापित हुन बाध्य पारेको छ ।

बाइडेनको युद्धविराम योजनाको पहिलो चरणमा छ हप्तासम्म पूर्ण युद्धविराम गर्ने योजना समावेश छ, यस चरणमामा इजरायली सेना गाजाको आवासिय क्षेत्रबाट फिर्ता गर्ने र इजरायलले प्यालेस्टिनी कैदीको बदलामा केही बन्धकहरूलाई रिहा गर्ने उल्लेख छ ।दोस्रो चरणमा युद्धरत पक्षहरूबीच युद्धको स्थायी अन्त्य गर्दै जीवित बन्धकलाई रिहा गर्ने रहेको छ भने तेस्रोमा गाजा क्षेत्रको प्रमुख पुनर्निर्माण योजना र मृत बन्धकहरूको अवशेष फिर्ता गर्ने उल्लेख छ ।  रासस/एएफपी