२०८१ मंसिर ११ , मंगलबार

‘एमपक्स’को प्रकोप फैलिएपछि डब्लुएचओले गर्यो स्वास्थ्य आपत्काल घोषणा

Mpoxx

सुनाखरी न्युज/ काठमाडौं ।

मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४५० जनाको मृत्यु भएको छ। यो अब मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको बीबीसीले उल्लेख गरेको छ ।

 

वैज्ञानिकहरूले यस रोगको नयाँ भेरियन्ट छिटो फैलिरहेको र यसको उच्च मृत्यु दरका कारण चिन्ता व्यक्त गरेका छन् । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई ‘धेरै चिन्ताजनक’ अवस्था भनेका छन् । ‘यो प्रकोप रोक्न र जीवन बचाउनको लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक छ’, उनले भने।

एमपक्स यौन सम्पर्क, छालादेखि छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि सर्नसक्छ ।यसमा फ्लू जस्ता लक्षणहरु देखिन्छन् । छालामा घाउहरू हुन्छन् । यो रोगबाट मृत्युको अनुपात १०० मा चार छ ।

नेपालमा पहिलो पटक २०८० को असारमा एमपक्सको संक्रमण पुष्टि भएको थियो । नेपालमा रहेकी एक विदेशी महिलामा उक्त संक्रमण देखिएको थियो ।

के हो मंकीपक्स ?

बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ ।

सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ र सन् २०२२ -२०२३ मा यसले विश्वव्यापी प्रकोपको रुप लिएको थियो । यस भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । तर विभिन्न साना स्तनपायीहरू जस्तै लोखर्के र बाँदरहरू यस रोगका लागि संवेदनशील हुन्छन् ।

एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, विमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।

यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ ।