२०८१ मंसिर ११ , मंगलबार

सार्वजनिक बसमा अनलाइन टिकट, जिपिएस ट्र्याकिङ र सिसिटिभी राख्न गृह मन्त्रालयको निर्देशन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले यात्रु बोक्ने सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली जडान गर्न, सिसिटिभी जडान गर्न र अनलाइन टिकटको व्यवस्था मिलाउन यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ।मन्त्रालयले यात्रुहरूलाई अनिवार्य टिकट काटेर यात्रा गराउन पनि निर्देशन दिएको छ।

सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशन दिँदै यी व्यवस्था कार्यान्वयन गर्न भनेको हो।अनलाइन टिकटको व्यवस्था नहुँदा सिमलताल दुर्घटनामा कति यात्रु परे भन्ने यकिन हुन सकेको थिएन। यात्रुका आफन्तहरूको सूचनामा भर पर्दा अहिले पनि दुर्घटनामा परेकाहरूको विवरण फरक परेको छ। यो घटना अध्ययन गर्न गृह मन्त्रालयले बनाएको कार्यदलको प्रतिवेदनले पनि यसबारे निर्क्यौल गर्न सकेको छैन।

प्रतिवेदनको अनुसूचीमा चितवन प्रशासनले उपलब्ध गराएको यात्रुहरूको सूची राखेको छ।त्यही कारण कार्यदलले अनलाइन टिकट प्रणाली सुरूवातको खाँचो औंल्याएको हो।चालक र सहचालकको लागि पोशाक तथा परिचय पत्रको व्यवस्था गर्ने, टिकट काउन्टरमा बस्ने कर्मचारीहरूले अनिवार्य परिचय पत्र र तोकिएको पोशाक लगाउन, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने, सवारी साधनहरूको नियमित मर्मत सम्भार, जाँच गर्ने र पुराना र असुरक्षित सवारी साधनलाई प्रयोगबाट हटाउने निर्देशन पनि गृह मन्त्रालयको छ।