२०८१ मंसिर ८ , शनिवार

कोटिहोमको विवाद भड्किने संकेत देखिएपछि छानबिन समिति

Kotihom bibad

सुनाखरी न्युज/ काठमाडौं।

प्रहरीले  कृष्णमूर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई पशुपतिनाथमा धरपकड गरेको घटनाबारे छानबिन सुरु भएको छ । साउन ३२ मा पशुपतिमा कोटिहोम सकेर होटल जान लागेका कथाबाचक कृष्णमूर्ति जी महाराजलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएका प्रहरीले धरपकड गरेका हुन् ।

तर, उनका भक्तहरूको अवरोधपछि प्रहरी अधिकृतहरू उनलाई गिरफ्तार गर्नबाट पछि हटे । काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले महाराजको ‘पुलिस रिपोर्ट’को प्रतिलिपि पाएपछि इन्स्पेक्टर वाङ्गेल लामाको नेतृत्वको टोली पशुपतिमा पठाएका हुन् ।

पशुपतिनाथ मन्दिरको पार्किङ्ग स्थलमा भएको ‘विवाद’ले उग्ररुप लिएपछि प्रशासन पछि हटेको छ । शनिबार दिनभर महाराज पक्ष र काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको बिचमा छलफल भएपछि छानबिन समिति बनाएर घटना मत्थर पार्न खोजिएको छ ।

अपराध अनुसन्धान गर्ने र त्रुटि देखिए मुद्दा चलाउने अधिकार प्रहरीसँग छ । तर, हिन्दु धर्म पक्षधरहरूले आन्दोलन चर्काउने चेतावनी दिएसँगै स्थानीय प्रशासन पछि हटेको जानकारहरू बताउँछन् । भण्डारीले गलत विवरण पेस गरेर ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ लिएको देखिएमा किर्ते मुद्दा चलाउने अधिकार भएपनि छानबिन समिति बनाएर थामथुम पार्न खोजीको छ ।

कथाबाचक विजय कृष्णमूर्तिसँग सामान्य सोधपुछ मात्र गर्न खोजिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । उनले भने, ‘उहाँले लिएको चारित्रिक प्रमाणपत्र र प्रहरीको सिआरएस सिस्टममा फरक रेकर्ड देखिएको भन्ने विषय थियो ।’ तर, पक्राउ गर्नु नपर्ने विषयमा प्रहरीले किन धरपकड गरेको थियो भन्नेबारे प्रश्न उठेको छ ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाको नेतृत्वको छानबिन समितिले काम सुरु गरेको छ । छानबिन समितमा डीएसपी गंगा पौडेल, सशस्त्रका डीएसपी प्रमोद राय, पत्रका गोविन्द चौलागाई र अधिवक्ता सचितानन्द काफ्लेसहित ७ जना छन् ।

छानबिन समिति बनाउनुपर्ने कारणबारे प्रजिअ बस्नेत भन्छन्, ‘घटना शान्ति सुरक्षासँग जोडिएपछि छानबिन समिति बनायौँ ।’

पशुपतिनाथ मन्दिरको पार्किङमा कृष्णमूर्ति पक्षका विप्लव खड्का र सोम शर्माले भिडलाई भड्काएको आरोप छ । त्यसदिन खड्कालाई पक्राउ गरेर प्रहरीले पछि रिहा गरेको थियो ।