सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भदौरे झरी परेको छ।लुम्बिनी, गण्डकी, बागमती प्रदेश आसपास मनसुनजनित ‘सर्कुलेसन’ बन्दा काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा झरी परिरहेको हो।यसैका कारण सुदूरपश्चिमका तराई भू-भाग पनि डुबानमा पर्न थालेका छन्।सुदूरपश्चिमको कैलाली, मधेस प्रदेशको पर्सामा धेरै भारी वर्षा भएको छ।
पछिल्लो २४ घन्टामा कैलालीको गर्भ दरबार केन्द्रमा १७४ मिलिमिटर वर्षा भएको छ। पर्साको रंगपुरमा १८० मिलिमिटर वर्षा भएको छ। कञ्चनपुर, कैलालीकै धनगढी, डडेलधुरा, लमजुङ लगायतका जिल्लामा भारी वर्षा मापन भएको छ।काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बुधबार दिउँसो पानी पर्न मत्थर भए पनि बिहीबारबाट मात्रै मौसम खुल्ने वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
लुम्बिनी, गण्डकी र बागमती प्रदेश जोडिएको स्थान आसपास मनसुनजनित सर्कुलेसन बनेको र यसैका कारण निरन्तर वर्षा भएको उनले बताइन्।‘त्यही सर्कुलेसनका कारण अहिले पानी पर्ने र रोकिने भइरहेको छ। यो क्रम बिहीबार साँझसम्म रहन्छ।
बिहीबार साँझबाट भने क्रमिक सुधार हुनेछ,’ उनले भनिन्, ‘शुक्रबार, शनिबार र आइतबार घाम देख्न पाइनेछ तर पूरै चाहिँ खुल्दैन, हल्कादेखि मध्यम र कतै भारी वर्षा हुन्छ। लगातार झरी पर्ने सम्भावना देखिँदैन।’कैलालीमा मंगलबार रातिदेखि लगातार ६ घन्टा पानी पर्दा केही ठाउँमा डुबान भएको छ। कैलालीको गौरीगंगा, भजनी, धनगढी लगायतका ठाउँमा डुवान भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।