अनिल पोखरेल।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ थामे बजार । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरु थामेमा बास बस्ने गर्थे । तर २०८१ साउन ३२ गते शुक्रबार दिउँसो करिब १ बजे ठूल्ठूला ढुङ्गा र गेग्रानसहितको भीषण बाढीले हेर्दाहेर्दै रमणीय थामे बजारलाई ढुङ्गे बगरमा परिणात ग¥यो । अकस्मात आएको बाढीले पर्यटकीय गाउँ थामे बजारका १३ वटा घर पूर्ण रुपमा र १० वटामा आंशिक क्षति भएको छ । एउटा विद्यालय, एउटा स्वास्थ्यचौकी पनि बगायो । उक्त दिन पानी खासै परेको थिएन र पनि लेदोसहितको यति ठूलो बाढी र गेग्रान कसरी आयो भन्ने सबैमा ठूलो प्रश्न थियो ।
शनिबार बिहान रक्षामन्त्री मानवीर राईको नेतृत्वमा हामी थामे बजार पुग्यौँ । त्यहाँ पुगेर प्रभावित परिवारलाई नगद तथा जिन्सी राहत वितरण गर्नाका साथै स्थलगत अवलोकन र स्थानीयसँग अन्तरक्रिया ग¥यौँ । थामे बजारबाट थामे खोलाको मुहानतर्फ लाग्यौँ । त्यहाँ पाँचवटा तालहरु देख्यौँ । त्यो मध्येको सबैभन्दा माथि रहेको ठूलो तालबाट पानी भरिएर बरफसँगै तल्लो तालमा गएर बजारिए छ । त्यसले ठूलो छाल बनाएर निकासतर्फको भाग भत्काएर बाहिर निस्केछ । यस्तो प्रक्रियालाई हिमताल फुटेको भनिन्छ । उक्त पानीले दायाँबायाँका ढुङ्गा, गेग्रानलाई खोतलेर तल लगेर थामे बजारमा थुपा¥यो ।
जल तथा मौसम विज्ञान विभाग, प्राविधिक र विषयविज्ञको सहभागितामा सो घटनाको विस्तृत अनुसन्धान गर्न टोली गठन गरेका छाँै । उक्त टोलीले अध्ययन गरिसकेपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ । सामान्यतः घटनास्थलको सरसर्ती अवलोकन गर्दा तापक्रम वृद्धिकै कारणले हिमताल विस्फोट भएको अनुमान गर्न सकिन्छ । अहिले कति तापक्रम वृद्धि भयो, विगतको तापक्रमको घटबढको अवस्था के थियो भन्ने पनि अध्ययन गर्छौँ । म आफैँले सो क्षेत्रको स्थलगत अवलोकन गरेँ । त्यहाँ पातला कपडा लगाउँदा पनि सो उचाइमा आश्चर्यजनक गर्मी महसुस भइरहेको थियो । थामे बजारका स्थानीयसँग अन्तरक्रिया गर्दा पनि उहाँहरुले तीन÷चार दिनदेखि नै कालानिला बादल मडारिरहेको बताउनुभयो । बौद्ध धर्म परम्पराअनुसार उहाँहरुले तालसम्म पुगेर पूजाआजा गर्ने उद्देश्यका साथ तयारी गर्नुभएको रहेछ । उहाँहरुका अनुसार बाढी आउने दिन बिहान सो क्षेत्रमा पानी परेको थिएन । तर त्यस दिन कालो बादल थियो । उहाँहरुले अहिलेसम्म त्यसखालको कालो बादल नदेखेको बताउनुभयो ।
मसिनो तर लगातार पानी परिरहेको, हप्हपी गर्मी । पानी र तापक्रम दुवैका कारण पहिलो ताल फुट्यो । ताल फुटेको सुनिश्चित गर्न हामीले हेलिकोप्टरबाट दुई राउण्ड नजिकबाट अवलोकन ग¥र्यौँ । ताल फुट्नु पछाडिको कारण भनेकै तापक्रम ह्वात्त बढ्नु हो । त्यो पहिलो पटक फुटेको देखिन्छ । हिमताल पग्लिएपछि माथिल्लो तालबाट हिउँको डल्लासहित तल्लो तालमा बजारिएको अनुमान गर्न सकिन्छ । तल्लो तालको निकासतर्फको भूभाग कमजोर रहेछ । त्यसको भित्र सयौँ वर्षदेखिको हिउँको ढिक्का चट्टान रहेको हुनसक्छ । तापक्रम वृद्धि भएपछि त्यो आफैँ पग्लिन थालेको अवस्थामा माथिल्लो तालबाट पानी र बरफ बगेर आइसकेपछि त्यसको छालले तल्लो तालको मुख फोड्यो । माथिबाट पानी र बरफ बज्रिएपछि दोस्रो ठूलो तालको पहिल्यै कमजोर भइसकेको मुख फुट्यो । माथिल्लो तालको केहीसहित त्यो पानी ह्वात्तै बग्यो ।
माथिल्लो ताल अहिले पनि टिलपिल टिलपिल नै छ । पहिलो तालबाट कति पानी गयो त्यो अहिल्यै भन्न सकिँदैन । रित्तिएको भनेको दोस्रो ताल हो । यसको मुल जड तापक्रम वृद्धि भएर हिमताल पग्लिएर फुटेको हो । सो घटनाको विस्तृत अध्ययन गर्न गठित टोलीले अध्ययन गरेर सो क्षेत्रमा पछिल्ला समय घटबढ भएका तापक्रमको विश्लेषण गरेर निष्कर्ष निकाल्छ । जलवायु परिवर्तनका कारणले हिमाली क्षेत्रमा जोखिम बढ्दो छ भन्ने स्पष्ट भएको छ । थामे बाढीले यसको थप पुष्ट्याइँ गर्छ । जलवायु परिवर्तनकै कारण उक्त घटना भएको हो । किनभने सो क्षेत्रमा कुनै पनि मानवीय गतिविधि छैन । हिमताललाई खल्बल्याउने गरी डोजर चलाउने, रुख काट्ने तथा मानवीय संरचना बनाउने कार्यले सो घटना भएको होइन । मुलतः जलवायु परिवर्तनको असरस्वरुप हिमताल फुटेको निष्कर्षमा पुगेका छौँ । यसलाई पुष्ट्याइँ गर्ने आधार, विगतका वातावरणीय प्रवृत्ति, अहिलेसम्म के भए भन्ने वैज्ञानिक प्रमाण जुटाएर घटनाको कारण पत्ता लगाउँछौँ ।
ताल फुट्नु अघिको तालको आकार भूउपग्रह (स्याटेलाइट)को नक्साबाट निकाल्ने प्रयास ग¥र्यौं । तर बादलका कारण निकाल्न सकेनौँ । ताल रित्तिसकेपछिको आकार हेरेर पानीको मात्रा निकाल्न सक्छौँ । त्यसपछि तालबाट कति पानी बाहिर गयो र त्यसको बहाव कति थियो भन्ने निकाल्छौँ । कति पानी कति घन्टासम्म बग्यो भन्ने विषय दूरीका आधारमा पत्ता लाग्छ । पानी नाप्ने विधि छ । त्यो काम बाँकी छ । पानी मात्रै होइन, बाढीसँगै गेग्रान पनि आएको छ । त्यो पनि अध्ययन गर्छौँ । स्याटेलाइटको नक्साअनुसार पहिलेको र अहिलेको अवस्था कस्तो छ, पानी, पानीको बहाव र गेग्रानको मात्रा पत्ता लगाउँछौँ । गेग्रानमा कस्ता चट्टान थिए भनेर पनि अध्ययन गर्छौँ ।
यस घटनाले हामीलाई विशिष्ट पाठ सिकाएको छ । हिमाली क्षेत्रमा रहेका साना ताल पनि उत्तिकै जोखिममा रहेछन् । हिमतालको जोखिम प्राथिमिकीकरण गर्ने तरिका नै पुनरावलोकन गर्नुपर्ने रहेछ । यस कामलाई प्राथमिकता दिन्छौँ । ठूल्ठूला मात्रै होइन, साना तालले पनि मुख्यगरी बस्तीलाई नोक्सानी पु¥याउन सक्दा रहेछन् । बस्ती एक÷डेढ सय किलोमिटर तल हुँदाहुन् त त्यति क्षति गर्दैनथ्यो होला । साना ताल विस्फोट हुँदा बस्ती, पुल, जलविद्युत् आयोजना, विद्यालयलगायत संरचना नजिकै छ भने क्षति बढी हुन सक्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिवको नेतृत्वमा जल तथा मौसम विज्ञान विभाग, खानी विभाग, सिँचाइ विभाग र सरोकार भएका निकायका प्रतिनिधि तथा विषयविज्ञ सहभागी हुनुहुन्छ । सो टोलीले यसको वैज्ञानिक आधार र कारण, किन ताल फुट्यो ? र यससँग जलवायु परिवर्तनको सम्बन्ध लगायत बारेमा अध्ययन गर्छ । अर्को टोलीले सोलुखुम्बुको थामे बजारदेखि ओखलढुङ्गासम्म कुनकुन क्षेत्रमा कति नोक्सानी भए भन्ने अध्ययन गर्छ । टोलीले बाढीबाट बस्ती, स्वास्थ्य चौकी, विद्यालय, सडक, पुल, खानेपानी, जलविद्युत् आयोजना र कृषि क्षेत्रमा भएका नोक्सानीको विवरण तयार गर्छ । दुई वटा टोलीको निष्कर्षका आधारमा आगामी दिनमा थामे बजारको पुनःस्थापनाका लागि गर्नुपर्ने तयारी, नफुटेका तीनवटा तालको जोखिमको अवस्था, ती तालको पानी घटाउने सम्भावनालगायत बारेमा निचोडमा पुग्छौँ । त्यसपछि मात्रै थामे बजारको त्यहीँ पुनःनिर्माण गर्ने कि स्थानान्तरण गर्ने निर्णय गर्छौं ।
सो घटना रातिमा भएको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो । सबैभन्दा पहिला विद्यालयमा खेलिरहेका बालबालिकाले त्यो पहिरो देख्नुभएछ । सो विद्यालय थामे बजारभन्दा थोरै उत्तरमा छ । उहाँहरुले आफ्ना शिक्षकलाई सुनाउनुभएछ । शिक्षकले विद्यार्थीलाई सुरक्षित स्थानमा लैजानुभएछ । थामे उपत्यका धेरै फराकिलो छैन । नदीको खोँच जस्तो छ । केही परिवार दायाँ पट्टी र केही बायाँ पट्टी हुनुहुँदो रहेछ । इन्टरनेटको राम्रो सुविधा भएको ठाउँ र एकताबद्ध समुदाय रहेछ । बाढी देख्नेबित्तिकै उहाँहरुले सामाजिक सञ्जालका समूह (ग्रुप)मा खबर गर्नुभएछ । अहिले पर्यटकीय सिजन नभएको हुँदा त्यहाँ विदेशी पर्यटक हुनुहुँदो रहेनछ । बेलैमा खबर पाएका कारण उहाँहरु सुरक्षित स्थानमा जान भ्याउनुभएछ ।
यो स्तरको घटना अहिलेसम्म व्यहोरिएकै थिएन । २०४२ सालमा डिक्छो हिमताल फुट्यो । त्यतिबेला राज्यको केही तयारी थिएन । सो हिमताल फुटेपछि मात्र नेपालमा मुख्यगरी हिमालय क्षेत्रमा हिमतालको जोखिम बढ्दो छ, यसका प्रभाव बढी हुन सक्छ भनेर नेपाल सरकार, विषयविज्ञ र अन्तर्राष्ट्रिय जगत्को चासो बढ्न थालेको हो । त्यो भन्दा अगाडि पनि थुप्रै पटक हिमताल फुटेका तथ्याङ्क भेटिन्छन् । तर यत्तिको राष्ट्रिय÷अन्तर्राष्ट्रिय चासो बढ्न थालेको डिक्छो हिमताल फुटेपछि नै हो । यसपछि अनवरतरुपमा हिमतालका बारेमा अध्ययन हुन थाले । नेपालमा तीन हजार छ सय २४ वटा हिमताल रहेको विभिन्न अध्ययनले देखाएका छन् । ४७ वटा जोखिमयुक्त र तीमध्ये २० वटा जुनसुकै बेला फुट्न सक्ने अवस्थाका छन् । अहिले फुटेको ताललाई जोखिमयुक्त मानिएको थिएन । जोखिमयुक्त तालका पानी घटाउनुपर्छ भनेर केही काम भएका छन् ।
नेपालसँग हिमालय पर्वत क्षेत्रमै हिमतालको जोखिम न्यूनीकरणका काम गरेकोे विशिष्ट अनुभव छ । हिमतालको जोखिम न्यूनीकरण गर्ने कार्य आफैँमा जोखिमयुक्त र खर्चिलो पनि छ । यद्यपि, प्राधिकरणले जोखिमयुक्त तालको पानी घटाउने तथा पूर्वसूचना प्रणाली जडान गर्ने काम गरिरहेको छ । जलवायु परिवर्तनको दृष्टिकोणबाट हेर्ने हो भने बर्खाका बेलामा हिमतालको जोखिम बढी हुन्छ । मनसुनको समयमा तापक्रम पनि सरदरभन्दा बढी हुन्छ । पानी पनि परिरहेको हुन्छ । बादलले ढाकेको अवस्थामा साधारण स्याटेलाइटबाट सो क्षेत्रको तस्वीर लिन सकिँदैन । अहिले पनि सो क्षेत्रको स्पष्ट स्याटेलाइटको तस्वीर पाउन सकिएको छैन । यसका लागि विशेषखालको स्याटेलाइट क्यामेराको प्रयोग गर्नुपर्छ । यो अत्यन्त खर्चिलो हुन्छ । हिमालय क्षेत्रभर नै वर्षभर अझ मुख्यगरी मनसुनको समयमा ट्र्याक गरिरहनुपर्ने रहेछ । केही हलचल देखिएको अवस्थामा तत्कालै वैज्ञानिकको टोली पठाएर अध्ययन गर्नुपर्ने रहेछ । एक पटक मात्र जोखिम अध्ययन गरेर हुँदैन रहेछ भन्ने निचोडमा पुगेका छौँ ।
हिमतालहरु सामान्यतः हिउँले पुरिएको अवस्थामा सेता हुन्छन् । कि त पानी पग्लेको अवस्थामा कञ्चन निलो देखिन्छ । हिमताल चलायमान र विचलन हुँदा वा हिमपहिरा झरेका ठाउँमा पानी धमिलो देखिन्छ । त्यहाँ तीन वटा तालमा कञ्चन पानी थिए । एउटा फुटेको र माथिको तालको पानी धमिलो देख्यौँ । जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि भई ग्लेसियर र पर्माफ्रोस्ट पग्लिँदा हिमताल विस्फोट भएर थामे खोलामा बाढी आएको स्पष्टसँग देख्यौँ । जलवायु परितर्वनका कारण हिमाली क्षेत्रमा एक प्रकारको सङ्कट उत्पन्न भइसकेको छ । यस्ता खालका सङ्कटले ठूलो मात्रामा क्षति तथा नोक्सानी ह्वात्तै बढेको पाउन थालेका छौँ । जोखिमपूर्ण हिमतालको जोखिम अनुगमन तथा पूर्वचेतावनीका प्रणाली जडान गर्ने साथै जोखिम न्यूनीकरणका उपाय कार्यान्वयनको आवश्यकता टड्कारो रुपमा देखिएको छ ।
(राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा हिमताल फुटेर आएको बाढीको कारण र असरबारे बुधबार साँझ सञ्चारकर्मीलाई दिनुभएको जानकारीको सम्पादित अंश) रासस