सुनाखरी न्युज/ काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएका छन् ।
सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै शुक्रबार उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बयानको क्रममा बताएका हुन् ।
लामिछानेले समितिमा बयान दिँदै आफूले मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको दाबी गरेको समितिका एक सदस्यले जानकारी दिए ।
‘मैले स्वेट सेयर १५ प्रतिशत लिएको थिएँ । मैले कुनै पैसा लगानी नगरेको कुरा सार्वजनिक रूपमा भनिसकेको छु‚’ लामिछानेको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।
बयानको क्रममा लामिछानेले आफू कुनै पनि सहकारी सदस्य नभएको भन्दै सहकारीको ऋणको विषयमा जिम्मा लिन नसक्ने बताएको ती सदस्यले जानकारी दिए ।