२०८१ मंसिर १ , शनिवार

मंगलादेवी सिंहको २८औं स्मृति दिवस मनाइयो

Mangaladevi-Singh

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल महिला संघका संस्थापक एवम् नेपाली महिला आन्दोलनकी नेतृ मंगलादेवी सिंहको २८ औं स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

उपप्रधानमन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरे । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मंगलादेवीका छोरासमेत रहेका  उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताए ।

 

कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मंगलादेवी सिंह नेपाली महिलाहरुका लागि प्रेरणा रहेको बताइन् ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि २००४ साल साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघ स्थापना भएको थियो ।