२०८१ मंसिर ११ , मंगलबार

महाराष्ट्रमा स्थापित छत्रपति शिवाजीको प्रतिमा ढल्यो

Chhatrapati-Shivaji-Maharaj-1024×579

सुनाखरी न्युज/ काठमाडौं ।

भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा स्थापित छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ ।

प्रधानमन्त्री मोदीले सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा प्रतिमा अनावरण गरेका थिए ।

भारतीय नौसेनाले निर्माण र स्थापना गरेको उक्त प्रतिमा ३५ फिट अग्लो थियो । एक वर्ष नपुग्दै प्रतिमा ढलेर टुक्राटुक्रा भएपछि विपक्षी दलहरुले त्यसको गुणस्तर र अनावरण गर्ने मोदीको हतारोमा प्रश्न उठाइरहेका छन् ।

 

कांग्रेसले सामाजिक सन्जाल एक्समा भाजपा नेतृत्वको सरकार भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

 

महाराष्ट्र राज्यका मुख्यमन्त्री एकनाथ शिन्देले ४५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको हावाका कारण प्रतिमा ढलेको बताएका छन् । यसलाई दुर्भाग्य भन्दै उनले त्यो ठाउँमा छत्रपति शिवाजी महाराजको प्रतिमा पुनर्निर्माण गरिने बताएका छन् ।

 

छत्रपति शिवाजी महाराज महाराष्ट्र राज्यको संस्थापक मानिन्छन् । उनले मुगल शासक र औरंगजेबविरुद्ध कयौं युद्ध जितेर मराठा साम्राज्य स्थापित गरेका थिए ।

उनको गुरिल्ला युद्ध शैली, सैन्य योजना र शक्तिशाली सेनाका सफलताका गाथा इतिहासमा पढ्न पाइन्छ ।