२०८१ आश्विन ५ , शनिवार

रेडियो जननीले ’जननी तीज संवादः उद्यमीका आवाज’ कार्यक्रम गर्दै

Capture

सुनाखरी न्युज/ पोखरा।

हरितालिका तीज २०८१ को अवसरमा रेडियो जननी ९०.६ ले ’जननी तीज संवादः उद्यमीका आवाज’ नामक एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ ।तीजलाई आर्थिक ससक्तिकरण संग जोडदै उद्यमशिल समाज बनाउने उद्देश्य सहित महिला उद्यमीहरूको सफलताको कथा, उनीहरूले सामना गरेका चुनौतीहरू, र अवसरहरूबारे अन्तरसंवाद कार्यक्रम गर्न लागेको अध्यक्ष हीरा भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार पोखराको होटल पौवामा भदौ १५ गते हुने कार्यक्रमले महिला उद्यमशीलता, स्वतन्त्रता, र समानताको महत्त्वलाई उजागर गर्दै, तीज पर्वलाई सांस्कृतिक महत्वका साथै आर्थिक सशक्तिकरणको रूपमा प्रस्तुत गर्ने प्रयास गर्ने छ ।रेडियो जननी ९०.६ का प्रस्तोता एवम् कार्यक्रम संयोजक जमुना वर्षा शर्माले नवआगन्तुक महिला उद्यमीहरूलाई प्रोत्साहन गर्दै उनीहरुका प्रेरणादायी यात्रालाई प्रकाश पार्ने र समाजमा उनीहरूको योगदानलाई उजागर गर्ने लक्ष्य राखेको बताए ।

कार्यक्रममा विभिन्न महिला उद्यमीहरूका अनुभव र विचार प्रस्तुत गरिनेछन्, जसले उनीहरूका सफलताका र सामना गरेका चुनौतीहरूबारे जानकारी दिनका साथै नयाँ उद्यमशीलताका अवसरहरूबारे खुला छलफल हुने उनको भनाइ छ ।

यस कार्यक्रममा सहभागी हुनका लागि महिला उद्यमीहरू, सामाजिक अभियन्ताहरू र इच्छुक सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ। रेडियो जननीको यो प्रयासले महिला उद्यमशीलताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा राखिएको रेडियोका समाचार प्रमुख उमा आलेले बताए । महिला उद्यमीद्वारा संचालित रेडियो जननीले महिला उद्यमशिलता आजको आवश्यकता भन्ने नारालाई जोड दिदै हरेक वर्ष विशेष कार्यक्रम गर्दै आइरहेको छ ।