२०८१ पुष २८ , आइतवार

पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्वार गरिँदै

pashupati nath

सुनाखरी न्युज/ काठमाडौं ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनः निर्माण सम्पन्न भएर सञ्चालन नहुँदै भासिएको छ ।आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो ।

सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महास्नानघर भासिएपछि चालु आर्थिक वर्षमा पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए। महास्नानघरको भुँइतलाको भागमा प्रहरी बस्ने गरेको थियो। भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ।

महास्नानघर निर्माणकालमा चौघेरा सत्तल एकैपटक नबनेका कारण भासिएको हुनसक्ने अनुमान गरिएको कोषका इन्जिनियर रिका जोशीले बताइन्। राणाकालमा बनेको चौघेरा सत्तल कोषले नै जीर्णोद्वार गरी योजना महाशाखा पनि करिब छ महिना सञ्चालन गरिएको उनले बताइन्।

महास्नानघरमा केही समय नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यालय पनि राखिएको थियो। महास्नानघर जीर्णोद्वार गर्दा तलको भागमा केही नगरिएका कारण भासिएको हुनसक्ने कोषका योजना महाशाखा प्रमुख इन्जिनियर पशुपति ठाकुरले बताए।