२०८१ मंसिर ९ , आइतवार

वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदन सार्वजनिक, स्वीकृतको ३५ प्रतिशत मात्रै आउँछ लगानी

American-Doller

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन: २०७९-८० सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको उल्लेख छ ।

 

जसअनुसार नेपालमा आर्थिक वर्ष २०७९-८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २९५ अर्ब ५० करोड रुपैयाँ कायम छ ।

राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्तापूँजीकोे अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत छ ।

 

प्रत्यक्ष वैदेशिक लगानीमा भारतबाट सबैभन्दा बढी अर्थात् १०३ अर्ब ४५ करोड (३५ प्रतिशत ) र त्यसपछि क्रमशः चीनबाट ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्याण्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अष्ट्रेलियाबाट १९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी छ ।