२०८१ मंसिर १० , सोमवार

आज कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन, यस्तो छ वैदिक महत्व !

fathers day

सुनाखरी न्युज/ काठमाडौं ।

आज कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । भाद्र कृष्ण औंसीको यो दिनलाई हाम्रो नेपाली समाजमा  विशेष  सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशे गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ ।

 

हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति) लाई भगवान विष्णुको प्रतीकको रूपमा चिनिन्छ र आजकै दिन यो पवित्र वनस्पति कुशलाई आ(आफ्नो घरमा भित्र्याइन्छ, जुन वर्षभरि गरिने देवकार्य वा पितृकार्यका लागि अति उपयोगी वनस्पतिको रुपमा लिइन्छ । कुशको महिमा वेद तथा पुराणहरूमा समेत वर्णन गरेको पाइन्छ ।

 

 

 

आजकै दिन आफ्नो बुबा र पूर्वजहरूको सम्मान गर्ने दिनका रूपमा पनि मनाइन्छ । यस दिन पितृहरूको तर्पण, पूजा, ब्राह्मण भोजन र दानको माध्यमबाट उनीहरूको आत्मा शान्ति र मुक्ति प्राप्त गर्न प्रार्थना गर्ने गरिन्छ ।

आज पिताको महत्त्व र योगदानलाई मान्यता दिने अवसर हो । यसै दिन विशेषगरी छोराछोरीहरूले आफ्नो पितालाई आदर व्यक्त गर्न पूजा अर्चना, पिताको आशीर्वाद लिने, पारिवारिक भोजको आयोजना गर्ने गरिन्छ, साथै पितृहरूलाई सम्मान स्वरूप काठमाडौंको गोकर्ण, पशुपति, रसुवाको बेत्रावती, देवघाट, बराहक्षेत्र लगायत विभिन्न तीर्थस्थलहरूमा स्नान, श्राद्ध, सिदा र तर्पण गर्नेहरूको ठूलो घुइँचो लाग्ने गर्छ । यसपालि सोमबारे औंसी परेकाले बिहान नबोलीकन नुहाउने चलन समेत रहेको छ ।