२०८१ पुष २७ , शनिवार

लगानी बोर्डको सीईओमा ५ जना सर्ट लिस्टमा (नामावली सहित)

Investment board

सुनाखरी न्युज।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये ५ जना सर्ट लिस्ट (संक्षिप्त सूची) मा परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सीईओका लागि २७ साउनमा  आवेदन माग गरेको थियो । त्यसअनुसार आवेदनहरुको वैधता अध्ययन गरेर ५ जना सूचीकृत भएका हुन् ।

 

सीईओका लागि ८ जनाले आवेदन दिएकोमा ५ जनालाई कार्यालयले संक्षिप्त सूचीमा समावेश गरेको छ । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन मागेको थियो ।

कार्यालयले आवेदकमध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवलाई संक्षिप्त सूचीमा समावेश गरेको छ । उनीहरुबाहेक को–को तीन जना आवेदक थिए भन्ने खुलेको छैन ।

 

संक्षिप्त सूचीमा परेका ज्ञवाली विघटित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ र नगर विकास कोषका पूर्व कार्यकारी निर्देशक हुन् । ढुंगाना भने धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैक पूर्व कार्यकारी निर्देशक हुन् । काफ्ले तत्कालीन वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड (हाल वैदेशिक रोजगार बोर्ड) का पूर्व कार्यकारी निर्देशक हुन् ।

अब संक्षिप्त सूचीमा परेकाहरुले बुझाएका रणनीतिक योजनाको परीक्षण गरेर अंक दिइनेछ । त्यसपछि अन्तर्वार्ताका लागि मिति तोकिनेछ । उनीहरुको कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता सकिएपछि उत्कृष्ट ठहरिएका तीन जनाको नाम सीईओ नियुक्त गर्न मन्त्रिपरिषद्‍मा सिफारिस हुनेछ । आवेदकहरुसँग ५ हजार शब्दसम्मको रणनीतिक कार्ययोजना मागिएको छ ।