२०८१ आश्विन ५ , शनिवार

मिस युनिभर्स नेपाल २०२४ को ताज सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको नेपाली संस्करण मिस युनिभर्स नेपालको यो वर्षको ताज सार्वजनिक गरिएको छ । “स्टार अफ द युनिभर्स” नाम दिइएको उक्त ताज मिस युनिभर्स २०२३ सेनिस पलासियोसले सार्वजनिक गरेकी हुन् ।२४५ ग्राम ह्वाइट गोल्ड र बहुमूल्य हिरा प्रयोग गरेर बनाइएको क्राउन शनिबार साँझ एक समारोहका बीच सार्वजनिक गरिएको हो ।

क्राउनको मूल्य अहिले बजार मूल्य अनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन् । ताजको डिजाइन अस्मी ज्वेलर्स ग्लोबलले गरेको हो ।क्राउन सार्वजनिक गर्दै मिस युनिभर्स सेनिसले भनिन्, “यो ताज केवल ताज मात्र नभएर कडा परिश्रमको प्रतिफल हो, र विश्व स्टेजमा नेपालको प्रतिनिधित्व गर्ने सपना र जिम्मेवारी पनि हो ।”

“स्टार अफ द युनिभर्स” नाम दिइएको यस ताजको डिजाइन रातको आकाशमा देखिने तारामन्डलको सौन्दर्यबाट प्रेरित छ । प्रिमियम व्हाइट गोल्डबाट बनाइएको यो ताजमा बहुमुल्य हीरा र ताराहरूको चमक झल्काउने अन्य रत्नहरूले सजिएको छ। डिजाइनमा मार्गदर्शन र प्रतिभाको प्रतीकको रुपमा तारा मन्डलहरु राखिएको डिजाइनर अस्मी ज्वेलर्स ग्लोबलले जनाएको छ ।यी तारामन्डलले विजेतालाई तारामन्डलजस्तै उज्ज्वल, प्रेरणादायक, र कालातीत हुन प्रेरणा प्रदान गर्ने मात्र नभइ मिस युनिभर्सको साइनिङ स्पिरिटलाई पनि प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।

मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले भदौ २२ गते शनिबार हायात होटलमा हुँदैछ । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जानकारी दिएको छ ।ताज सार्वजनिक गर्नु अगाडि २२ प्रतियोगीहरूको प्रिलिमिनरी राउन्ड सम्पन्न भएको थियो जसमा इशानी श्रेष्ठ, सोफिया भुजेल, सवि पुरी, अलेक्ज्याण्डर गोन्जालेज र विदुषी राणाले जजको भूमिका निर्वाह गरेका थिए ।यी २२ प्रतियोगीहरुको भोटिङ राउन्ड खल्तीमार्फत शुरु भईसकेको छ ।