२०८१ मंसिर १० , सोमवार

आज हरितालिका तिज मनाइँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

हिन्दु नारीहरुले आज हरितालिका तीज मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ।

सत्य युगमा आजैको दिन निराहार (पानीसमेत नखाइ) व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरुमा घुइँचो लागेको छ ।

तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । व्रत निराहार (पानीसमेत नखाइ), जलाहार र फलाहार गरी तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार बस्न सकिने छ ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।

तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरु भेला भएर नाचगान गर्दछन् ।तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।