२०८१ पुष ७ , आइतवार

आज गणेश चतुर्थी, यस्तो छ यसको महत्व !

Ganesh

सुनाखरी न्युज/ काठमाडौं ।

गणेश चतुर्थी  । विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो ।

मानिसहरूलाई आफ्नो जीवनमा आइपर्ने कुनै पनि समस्या, अवरोध वा नकारात्मक तत्त्वहरू हटाउन, नयाँ कार्यको सुरुआत गर्न, भगवानको कृपा द्वारा आशीर्वाद प्राप्त गर्न भगवान गणेशजीलाई पूजा गर्ने गरिन्छ । यो पर्व भारत र नेपालका धेरै ठाउँहरूमा यस पर्वलाई निकै उत्साहका साथ मनाइन्छ ।

विशेषगरी महाराष्ट्र राज्यमा दस दिनसम्म यस पर्वलाई विशाल रूपमा मनाइन्छ, जहाँ भगवान गणेशको मूर्ति स्थापना गरिन्छ र धुमधामका साथ पूजापाठ गरिन्छ र अन्त्यमा मूर्ति विसर्जन गरिन्छ ।

 

यो पर्वले समाजमा एकता र सहयोगको भावना पनि ल्याउँछ । मानिसहरू सामूहिक रूपमा मण्डप सजाएर भगवान गणेशको मूर्ति स्थापना गर्छन्, र प्रायस् सबै समुदायका मानिसहरू पूजा, भजनकृतन, र विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने गर्दछन् ।

गणेश चतुर्थीमा गरिएको भगवान गणेशजीको पूजा, निष्ठा, व्रत उपासना र तपको प्रभावद्वारा गणपति भगवानको आशीर्वाद प्राप्त हुने र जीवनमा सुख, शान्ति, र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।

गणेश, वक्रतुन्ड, लम्बोदर, विनायक, एकदन्त, गजाधर जस्ता नामले परिचित भगवान गणेशजीको लागि धेरै भक्तजनहरू यो दिन व्रत बस्छन् ।

व्रतालुहरूले केवल फलफूल वा एक छाक मात्र खान्छन् र भगवान गणेशको पूजा गरी व्रत पूरा गर्छन् । गणेश चतुर्थीको दिन मानिसहरूले भगवान गणेशको माटोको प्रतिमा ल्याएर आफ्नो घर वा मण्डपमा स्थापना गर्दछन् र स्थापना गरिएको मूर्तिमा प्राणप्रतिष्ठा गरिन्छ त्यसपछि भगवान गणेशको मूर्तिलाई फूल, माला, दुबो, अगरबत्ती, धूप, दीप, पान, सुपारी आदि चढाएर विशेष पूजा गरिन्छ ।