सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा करिब ३ लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको जानकारी दिए ।
पर्वका अवसरमा बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको थियो । बिहान केही बेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो । झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चार वटा लामको व्यवस्था गरेको थियो ।